साबधान !! एसएमएसबाट ठग्गिएला !

काठमाडौं, श्रावण ७ – कुनै पनि बेला आफन्तकै नम्बर र नामबाट एसएमएस सन्देश आउन सक्छ, त्यसलाई कुराकानी या भेटघाटमार्फत पुष्टि नगरी कामै गर्नुभयो भने तपाईं ठूलै समस्यामा पर्न सक्नु हुन्छ ।
होसियार ! तपाइकै नम्बरबाट पनि कसैलाई त्यस्तो एसएमएस जान सक्छ ! र, तपाईं कानुनी फन्दामा पर्न पनि के बेर !
बैंक, वित्तीय संस्था तथा अन्य संस्थाले एसएमएसमार्फत सेवा लिन/दिन सकिने प्रविधि विकास गरिरहेका बेला एसएमएसकै विश्वसनीयता घटेको हो । महानगरीय अपराध महाशाखाले केही दिनयता अर्कैको नाम र नम्बरबाट नक्कली सन्देश पठाउने तरिका र समूहबारे अध्ययन थालिसकेको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यसरी नक्कली सन्देश पठाउने प्रविधिबारे नेपालका मोबाइल सेवा प्रदायकहरूसमेत बेखबर छन् । खास व्यक्तिसित कुराकानी वा किटानी नगरी एसएमएसकै भरमा वित्तीय संस्थाले एक व्यक्तिको खाताबाट अर्काकोमा रकमान्तर गरे अप्ठ्यारो पर्न सक्छ । प्रहरीले यसमा सचेत रहन पनि आग्रह गरेको छ ।
अनुसन्धान टोली शुक्रबार यो प्रविधिको परीक्षण गरिरहेको थियो । त्यस क्रममा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको मोबाइल प्रयोगै नगरी उनको नाम र नम्बरबाट महानगरीय आयुक्त कार्यालयका प्रमुख कुवेरसिंह रानालाई दुई लाइनको सन्देश पठाइयो । तत्काल रानाको मोबाइलमा म्यासेज रिसिभ भएको घन्टी बज्यो । हेर्दा शाहको नम्बरबाट थियो, नाम पनि आएको थियो ।
नक्कली सन्देश पठाउने कार्यले प्रोत्साहन पाए अपराध र ठगी दुवै बढ्ने स्थितिलाई ध्यान दिई आयुक्त कार्यालयले सबै मोबाइल सेवा प्रदायकहरूसँग आइतबार छलफल राखेको छ ।
स्रोतका अनुसार अस्ट्रेलियामा दर्ता भएको एउटा सर्भरबाट संसारभरि जसले जसका नाममा पनि पाँचवटा सन्देश निःशुल्क पठाउन सक्छ । छैटौं पटक पठाउन भने उक्त सर्भरले क्रेडिट कार्डमार्फत रकम माग्छ । कार्डको नम्बर नहालेपछि त्यसले काम गर्दैन । विकसित मुलुकहरूमा त्यस्तो सन्देश पठाउने र पाउने दुवैको रेकर्ड सेवा प्रदायकमार्फत ‘ट्रयाक’ गर्न सकिन्छ, जानकारहरूका अनुसार त्यो ट्रयाक गर्ने प्रविधि हालसम्म नेपालमा उपलब्ध छैन ।
‘यो प्रविधि दुरुपयोग भयो भने निर्दोष व्यक्तिहरू झमेलामा फस्न सक्छन् र करोडौं रुपैयाँ ठगी हुन पनि सक्छ,’ आयुक्त राना भन्छन्, ‘यसबारे सेवा प्रदायक र सर्वसाधारण सबैले बेलैमा सजग हुनु जरुरी छ ।’

Read more: http://dangcity.com/main/?p=364

Source:Kantipur news

#%e0%a4%b8%e0%a4%be%e0%a4%ac%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%ae%e0%a4%8f%e0%a4%b8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a0%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%bf%e0%a4%8f, #fake-sms-in-nepal, #sms-report-nepal